सुर्खेत — सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो सार्वजनिक गरेपछि तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर–१० एयरपोर्ट क्षेत्रमा बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही रहेका छन । यस्तै दैलेख घर भई सोही क्षेत्रमा बसोबास गर्दै कक्षा १२ मा अध्ययनरत १९ वर्षीय असिम सावद र वीरेन्द्रनगर–११ पिपिरामा बस्ने १८ वर्षीय प्रकाश सुनार पनि पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले खुकुरी प्रदर्शन गर्दै भिडियो पोस्ट गर्दा समाजमा त्रास र अशान्ति फैलन सक्ने भन्दै कारबाही गरिएको बताए ।
उनका अनुसार तीनै जनामाथि सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
