बाँके। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच बर्दिया र बाँकेका केही निर्वाचन क्षेत्रमा चुनावी तालमेल भएको छ ।
दुवै दलबीच बर्दियाका दुवै निर्वाचन क्षेत्र तथा बाँके निर्वाचन क्षेत्र नम्बर १ मा एकअर्कालाई सघाउने सहमति भएको हो । सहमतिअनुसार बर्दियामा प्रलोपाले नाउपा नेपालका उम्मेदवारलाई समर्थन गर्नेछ भने बाँके–१ मा नाउपा नेपालले प्रलोपालाई साथ दिनेछ ।
बाँके–१ मा प्रलोपा तर्फकी प्रत्यक्ष उम्मेदवार कृष्ण केसीलाई नाउपा नेपालले समर्थन गर्ने नाउपाका संरक्षक रेशमकुमार चौधरी ले जानकारी दिए । उनका अनुसार प्रलोपाले नाउपा नेपालको समानुपातिक उम्मेदवारलाई समेत सघाउने सहमति भएको छ।
नाउपा नेपालबाट बर्दिया–१ मा पूर्वमन्त्री अब्दुल खान र बर्दिया–२ मा खुसीराम थारु उम्मेदवार रहेका छन् । ती दुवै उम्मेदवारलाई प्रलोपाले समर्थन गर्ने समझदारी बनेको जनाइएको छ ।
प्रलोपा बर्दियाका प्रमुख गेहेन्द्र प्रसाद ढकालका अनुसार बर्दियाको दुवै क्षेत्रमा नाउपा नेपाललाई सघाउने सहमति भएको हो । यसअघि प्रलोपाबाट बर्दिया–१ मा राजु रानाभाट र बर्दिया–२ मा नेत्रराज आचार्यले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए ।
दुई दलबीचको यो तालमेलले बर्दिया र बाँकेका निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
