पुष ७, काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्षपूर्ण प्रतिक्रिया जनाउँदै आफू अदालत धाइरहनु परेको अवस्थालाई ‘राजनीतिक प्रतिशोधको परिणाम’का रूपमा चित्रित गरेका छन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दाको तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूलाई गुन लगाएको दाबीलाई व्यङ्ग्यात्मक शैलीमा स्वीकार गरे । “केपी ओलीजीले गुन लगाएको भन्नु भएको छ, साँच्चै धेरै गुन लगाउनुभएको छ। त्यही गुन तिर्न अदालत आएको हुँ,” उनले भने ।
लामिछानेले आफूलाई एक हप्ताभित्र सातवटा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यता ओलीकै कारण सिर्जना भएको आरोप लगाए। उनले मुद्दाको दबाबलाई शारीरिक पीडासँग तुलना गर्दै भने, “जिउमा ठाउँ–ठाउँमा किला ठोकेको जस्तो भएको छ। सातै दिन फरक–फरक अदालत धाउनुपर्ने अवस्था छ ।”
उनका अनुसार कतिपय जिल्लामा तारिख अरूले लिइसकेको हुन सक्ने भएकाले त्यसलाई मिलाउनसमेत दौडधुप गर्नुपर्ने अवस्था छ । “दौडादौड रोकिएको छैन। विष शरीरभरि अझै बाँकी नै छ,” उनले थपे ।
ओली नेतृत्वको नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित तत्कालीन गठबन्धन सरकारले आफूमाथि सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको लामिछानेको दाबी छ । उनी उच्च अदालत बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा परेका थिए भने सोही अदालतको आदेशअनुसार गत शुक्रबार २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
हाल रवि लामिछानेविरुद्ध काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन् । अदालत–अदालत धाइरहनु परे पनि आफू नडराउने र कानुनी तथा राजनीतिक लडाइँ जारी राख्ने संकेत उनले दिएका छन् ।
