पुष ७, काठमाण्डाै । पहिला नामै नसुनिएको एउटा समूहले गरेको बन्दको आह्वानका कारण सोमवार काठमाडौँ उपत्यकाका विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावित भएको छ । सुरक्षा चिन्ताका कारण धेरै विद्यालयहरू खुलेनन् भने केही विद्यालयहरूले वैकल्पिक रूपमा अनलाइन कक्षा सञ्चालन गरेका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बन्द आह्वान गर्ने समूहले राखेका सबै माग सम्बोधन गर्न सकिने खालका नभएको बताएका छन् । उनले विद्यार्थी र शिक्षकको सुरक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै आवश्यकताअनुसार विद्यालयहरूलाई सुरक्षा व्यवस्था उपलब्ध गराइने स्पष्ट पारे। मन्त्री पुनले विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न आग्रहसमेत गरेका छन् ।
यसैबीच निजी तथा आवासीय विद्यालयहरूको एउटा सङ्गठनले विज्ञप्ति जारी गर्दै विद्यालयलाई “शान्तिक्षेत्र” का रूपमा सम्मान गर्न आग्रह गरेको छ। सङ्गठनले कुनै पनि प्रकारका आन्दोलन वा दबाबका कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई निसाना नबनाउन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।
बन्दका कारण अभिभावक र विद्यार्थीहरू अन्योलमा परेका छन् भने सरोकारवालाहरूले शैक्षिक वातावरण सुरक्षित र नियमित बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
