काठमाडौं । बलिउड अभिनेता संजय दत्त फेरि एकपटक नेपाली राजधानीमा देखिने भएका छन् । तर, यसपटक उनको आगमन फिल्म प्रवर्द्धन वा सांस्कृतिक कार्यक्रमका लागि नभई क्यासिनो उद्घाटनसँग जोडिएको छ ।
होटल बाराहीले काठमाडौंमा संचालनमा ल्याउन लागेको ‘बादशाह क्यासिनो’ को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुन दत्त २४ पुसमा काठमाडौं आउन लागेका हुन् । होटल स्रोतका अनुसार दत्तले क्यासिनो प्रवर्द्धनका गतिविधिमा सीमित सहभागिता जनाउनेछन् र सोही दिन भारत फर्किने कार्यक्रम तय भएको छ ।
दिलचस्प पक्ष के छ भने, नेपाल आगमनकै समयमा दत्त अभिनित फिल्म ‘धुरन्धर’ नेपाली हलमा प्रदर्शनरत छ । यद्यपि, फिल्मसँग सम्बन्धित कुनै औपचारिक कार्यक्रम भने तय गरिएको छैन । होटल पक्षले भारतीय पर्यटकको उल्लेख्य उपस्थिति र दत्तको नेपालमा रहेको फ्यान फलोइङलाई ध्यानमा राख्दै उनलाई विशेष अतिथिका रूपमा निम्त्याइएको जनाएको छ ।
क्यासिनो पक्षले सामाजिक सञ्जालमार्फत पनि दत्तको आगमनबारे जानकारी सार्वजनिक गरिसकेको छ । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय चर्चित कलाकारलाई क्यासिनो तथा मनोरञ्जन व्यवसायको प्रवर्द्धनमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा दत्तको आगमनलाई सोही रणनीतिसँग जोडेर हेरिएको छ ।
यसअघि पनि दत्तले नेपालसँग सम्बन्धित केही अवसरमा सार्वजनिक सद्भाव व्यक्त गरेका थिए । यसै वर्ष उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिताको विवाह अवसरमा शुभकामना सन्देश पठाएका थिए । त्यस्तै, उनका पिता सुनिल दत्तले नेपाली फिल्म ‘माइतीघर’ मा अतिथि भूमिका निर्वाह गरेका कारण दत्त परिवार र नेपाली सिनेमा बीचको पुरानो सम्बन्ध पनि स्मरणीय मानिन्छ ।
एकदिने औपचारिक भ्रमण भए पनि संजय दत्तको आगमनले क्यासिनो व्यवसायसँगै नेपाली मनोरञ्जन बजारमा समेत चर्चा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
