झापा, १८ जेठ २०८३ – झापाको मेचीनगर नगरपालिका-१५ निलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार निलकोठी निवासी ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा सोही स्थानस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत तनहुँका ३५ वर्षीय रामबहादुर गौतम पक्राउ परेका हुन ।
आइतबार राति आपसी विवादका क्रममा रामबहादुरले कुटपिट गर्दा रूद्र गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले आरोपित गौतमलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
