मोरङमा निर्वाचन प्रचारका क्रममा हिँडिरहेको एउटा गाडीबाट नगद रकम बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार कांग्रेस कार्यकर्ता सवार गाडीबाट ४ लाख ४९ हजार रुपैयाँ फेला परेको हो ।
घटना रतुवामाइ क्षेत्रमा भएको बताइएको छ। स्थानीय रूपमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गाडी रोकेर प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा गाडी चोकमा रोकिएको अवस्थामा भेटिएको थियो। गाडीभित्र कांग्रेसका प्रचार सामग्रीसहित नगद रकम भेटिएको एसपी कटवालले जानकारी दिए ।
प्रहरीले रकमको स्रोतबारे सोधपुछ गर्दा चालकले आफू व्यवसायी भएको र उक्त रकम व्यक्तिगत प्रयोजनका लागि बोकेको दाबी गरेका थिए। प्रारम्भिक रूपमा गाडी र नगदसहित तीन जनालाई नियन्त्रणमा लिइए पनि सोधपुछपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि बरामद रकम र गाडी मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाइएको छ । निर्वाचन अधिकृत रूद्र आचार्यले कार्यालयमा औपचारिक जानकारी प्राप्त भइसकेको र आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।
मोरङ–२ मा नेपाली कांग्रेसका तर्फबाट मिनेन्द्र रिजाल उम्मेदवार छन । यस्तै नेकपा एमालेबाट दिलिपकुमार अग्रवाल, नेपाल कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कुमार कार्की उम्मेदवार छन ।
निर्वाचन आचारसंहिताको सन्दर्भमा नगद बरामद भएको विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ । निर्वाचन कार्यालयले रकमको स्रोत, प्रयोजन र आचारसंहिता उल्लंघन भए-नभएको विषयमा छानबिन गर्ने जनाएको छ ।
