कोहलपुर, बाँके – कोहलपुर नगरपालिका-५ स्थित ब्रिज ईन्टरनेशनल स्कुलले आफ्नो पाँचौं फाउन्डर कप तथा वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र अनुशासनको उत्कृष्ट प्रस्तुति देखिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सभापति शिव कुमार पौडेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी उपस्थित रहिन् । कार्यक्रम सञ्चालन चन्द्र पंगाली, रितु लावड र रोशनी शाहीले संयुक्त रूपमा गरेका थिए ।
उत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, जनचेतनामूलक नाटक तथा आफूहरूले तयार पारेका कला सामग्री र नवप्रवर्तन (इनाभेसन) हरूको प्रदर्शनी गरेका थिए । सामाजिक विकृति, वातावरण संरक्षण, शिक्षा र अनुशासनजस्ता विषय समेटिएका प्रस्तुतिले अभिभावक र अतिथिहरूको ध्यान आकर्षित गरेको थियो । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सिर्जनात्मक कलासम्बन्धी सामग्रीहरू राखिएको थियो, जसले विद्यार्थीहरूको व्यावहारिक सीप र क्षमता उजागर गरेको विद्यालयले जनाएको छ ।
चार दिनसम्म सञ्चालन गरिएको खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ‘हाउस अफ द इयर’ उपाधि एलो हाउस सगरमाथाले २३३ अंकसहित उचालेको थियो भने मार्चपासतर्फ अन्नपूर्ण हाउसले उपाधि जितेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि संगिता सुवेदी ले विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा दिएको प्राथमिकताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताइन् । उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय तह सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुख, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले उत्सव अझ प्रभावकारी र उत्साहपूर्ण बनेको आयोजकले जानकारी दिएको छ ।
