नेपालगञ्ज । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक जि. एमले आर्थिक विकासदेखि सामाजिक न्यायसम्मका बहुआयामिक कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ‘तारा’ चुनाव चिह्नसहित मैदानमा उत्रिएका उम्मेदवारले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राख्दै संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
पूर्वाधार विकासमा जोड
सार्वजनिक प्रतिबद्धतामा सडक तथा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । विभिन्न ग्रामीण सडकहरूको स्तरोन्नति, जोखिमयुक्त पुलहरूको मर्मत तथा नयाँ पुल निर्माणलाई तीव्रता दिने उल्लेख छ । जानकी, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १६ र १७ लगायत क्षेत्रमा मुख्य तथा सहायक सडक कालोपत्रे गर्ने योजना अघि सारिएको छ ।
सिंचाइतर्फ सिँचाइ आयोजनाबाट नपुगेका कृषियोग्य जमिनमा भूमिगत तथा स्यालो ट्युबवेलमार्फत वैकल्पिक व्यवस्था गरिने जनाइएको छ । ‘एक घर, एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने प्रतिबद्धता समेत जनाइएको छ । विद्युत् विस्तार र ग्रामीण विद्युतीकरणलाई पनि प्राथमिकतामा राखिएको छ ।
कृषि र पशुपालनमार्फत आर्थिक समृद्धि
निर्वाहमुखी कृषिलाई व्यवसायिकरण गर्दै उन्नत बीउबिजन, मलखाद तथा प्राविधिक सहयोग उपलब्ध गराइने योजना प्रस्तुत गरिएको छ । कृषि तथा पशुपालनमा आधारित लघुउद्यम स्थापना, उत्पादनको बजारीकरण र कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
पर्यटन, सञ्चार र बस्ती व्यवस्थापन
बैजनाथ क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने, विभिन्न समुदायका सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा गाभर पार्क लगायतका स्थानलाई व्यवस्थित गर्ने योजना समेटिएको छ । सञ्चार पूर्वाधार विस्तारतर्फ आवश्यक स्थानमा टेलिफोन लाइन तथा FTTH सेवा विस्तार गरिने उल्लेख छ । अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापन, जग्गाधनी पुर्जा उपलब्ध गराउने पहल तथा पुनर्वास कार्यक्रमलाई अगाडि बढाइने जनाइएको छ ।
शिक्षा, स्वास्थ्य र सामाजिक न्याय
सबै विद्यालयलाई भौतिक पूर्वाधारसहित व्यवस्थित बनाउने, प्राविधिक शिक्षामा जोड दिने तथा बालविकास केन्द्रलाई सुदृढ बनाउने योजना अघि सारिएको छ । स्वास्थ्यतर्फ मानसिक स्वास्थ्य र लागुऔषध दुव्र्यसन न्यूनीकरण कार्यक्रम सञ्चालन, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ । साथै शहीद परिवार, बेपत्ता परिवार, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा विपन्न वर्गका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सुशासन र पारदर्शिताको प्रतिबद्धता
जटिल कानुनी प्रावधान संशोधन गरी जनपक्षीय कानुन निर्माणमा पहल गर्ने, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउने तथा जनतासँग प्रत्यक्ष संवाद कायम गर्ने उम्मेदवारको प्रतिबद्धता छ । उम्मेदवारले राजनीतिलाई सेवा र इमान्दारिताको माध्यम बनाउने, युवालाई सीप विकास र रोजगारीसँग जोड्ने तथा बाँकेलाई समृद्ध, सुरक्षित र शिक्षित जिल्ला बनाउने लक्ष्यसहित मतदातासँग समर्थन माग गरेका छन् ।

