पुष ७, काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डी गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार चन्दले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडियो माग्ने र नियमित रूपमा अश्लिल गतिविधि गर्न बाध्य बनाउने गरेको पाइएको छ। नाबालिकाले उक्त गतिविधि गर्न अस्वीकार गरेपछि चन्दले ती तस्बिर तथा भिडियो पीडितका साथीभाइ र आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा उनलाई कैलालीबाट पक्राउ गरेको हो।
पक्राउ परेका चन्दविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
