नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको नवजात शिशु केही घण्टापछि जीवित भेटिएको घटनाले अस्पतालको उपचार प्रक्रिया, मृत्यु पुष्टि गर्ने मापदण्ड र चिकित्सकीय जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
अस्पतालले यस घटनालाई ‘अपवाद’ भन्दै माफी मागे पनि शिशुलाई ‘शव’ भन्दै आफन्तको जिम्मा लगाउनु, मृत्यु पुष्टि गर्ने प्रक्रिया कमजोर हुनु र परामर्शमा देखिएको त्रुटिले अस्पताल प्रणालीमै गम्भीर लापरवाही भएको संकेत गरेको छ।
घटनाअनुसार, मंसिर २५ गते लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते ६१७ ग्राम तौलको शिशुलाई जन्म दिएकी थिइन्। चिकित्सकले मंसिर २९ गते शिशुको मृत्यु भएको घोषणा गर्दै आफन्तलाई शव जिम्मा लगाएका थिए। तर घर लगेपछि करिब चार घण्टापछि शिशुमा जीवनको संकेत देखिएपछि पुनः अस्पताल ल्याइयो। अस्पताल पुगेको केही समयमै शिशुको मृत्यु भएको थियो।
अस्पताल प्रशासनले २३ हप्तामै जन्मिएको र एक किलोभन्दा कम तौल भएकाले शिशु बाँच्ने सम्भावना नरहेको दाबी गरेको छ। तर, जीवनको संकेत देखिएको अवस्थालाई बेवास्ता गर्दै मृत घोषणा गर्नु स्वयंमा चिकित्सकीय सावधानीको गम्भीर उल्लङ्घन भएको भन्दै सर्वसाधारणले प्रश्न उठाएका छन्।
विशेषगरी, मृत्यु पुष्टि गर्दा अपनाइनुपर्ने समय, निगरानी र दोहोरो परीक्षणको अभ्यास किन भएन ? शव जिम्मा लगाउँदा पुनः परीक्षण किन गरिएन ? भन्ने प्रश्नहरू अनुत्तरित छन्।
अस्पतालले परामर्शमा कमजोरी भएको स्वीकार गरे पनि, यस्तो संवेदनशील घटनामा माफी मात्र पर्याप्त नभई जिम्मेवार पक्षको पहिचान, स्पष्ट छानबिन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस सुधार आवश्यक रहेको पीडित परिवार र नागरिक समाजको भनाइ छ।
यो घटना केवल ‘अपवाद’ नभई सरकारी अस्पतालमा नवजात शिशु उपचार, मृत्यु घोषणा प्रक्रिया र मानव संवेदनाको गहिरो समीक्षा गर्नुपर्ने चेतावनीका रूपमा देखिएको छ।
