महोत्तरी, साउन १३ – महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट प्रहरीले करिब ४ सय ५४ किलोग्राम गाँजासहित एक मिनी ट्रक चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-३ निवासी २६ वर्षीय विश्व तामाङ रहेका छन ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको बा.४ ख ५६९२ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा ट्रकको छतमा बनाइएको फल्स बटम (नक्कली तह) भित्र लुकाइछिपाइ राखिएको ६० वटा पोकामा रहेको करिब ४५४ किलोग्राम गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजासहित चालक तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

