काठमाडौं, – सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित कुमार थापा मगर आफ्नी पत्नी ४२ वर्षीया ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका छन । प्रहरीले घटनापछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटार क्षेत्रमा घरायसी विवादका क्रममा ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारीअनुसार मृतक ईश्वरी भुजेल नेपाली सेनामा कार्यरत थिइन । आफूलाई सामाजिक सञ्जालमा रेस्लर तथा फाइटरका रूपमा प्रस्तुत गर्दै आएका कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
घटनाले सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रका नागरिकलाई स्तब्ध बनाएको छ । सरोकारवालाहरूले घटनाको निष्पक्ष, पारदर्शी र गहन छानबिन गरी दोषी प्रमाणित भए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन ।
साथै, यस्ता जघन्य तथा हिंसात्मक अपराध दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, कानुनी कार्यान्वयन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ ।
प्रहरीले घटनाबारे आवश्यक प्रमाण सङ्कलन तथा अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ । पछिल्लो जानकारीअनुसार यस प्रकरणमा थप व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाइएको छ ।
(समाचार अद्यावधिक हुँदै…)
