फागुन १२, भारतको झारखण्ड राज्यस्थित चतरा जिल्लामा सोमबार बेलुकी एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सातै जनाको ज्यान गएको छ । राँचीबाट दिल्लीका लागि उडेको उक्त विमान बिरामीसहितको मेडिकल इभ्याकुएसन उडानमा थियो ।
उडानपछि केही मिनेटमै सम्पर्क विच्छेद
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार विमान साँझ ७:११ बजे बिरसा मुण्डा विमानस्थल, राँचीबाट उडेको थियो। कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग प्रारम्भिक सम्पर्क स्थापित भएपछि खराब मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको बताइएको छ ।
तर साँझ ७:३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक टुटेको थियो। त्यसपछि वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्क स्थापित हुन सकेन। वाराणसी रडार रिप्लेमा अन्तिम संकेत ७:२२ बजे देखिएको जनाइएको छ ।
बीचक्राफ्ट सी–९० विमान दुर्घटनाग्रस्त
दिल्लीस्थित रेडबर्ड एयरवेज द्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो। कम्पनीले सन् २०१९ देखि चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडान सञ्चालनको अनुमति पाएको थियो। सन् २०१८ मा उद्यमी अक्षय कुमारले स्थापना गरेको उक्त कम्पनीले २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्ने दाबी गर्दै आएको छ ।
मृत्यु हुनेको विवरण
दुर्घटनामा ४१ वर्षीय सञ्जय कुमारसहित सात जनाको मृत्यु भएको भारतीय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ। आगलागीमा ६३ प्रतिशत शरीर जलेका सञ्जयलाई थप उपचारका लागि दिल्ली लगिँदै थियो ।
उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र तथा सहयोगीहरू अर्चना देवी र धुरु कुमार पनि विमानमा सवार थिए। क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंहको समेत ज्यान गएको छ ।
खराब मौसम प्रारम्भिक शंका, छानबिन सुरु
राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। यद्यपि वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ। घटनाको औपचारिक छानबिन प्रक्रिया अघि बढाइएको छ ।
नियामक निगरानीमाथि फेरि प्रश्न
हालै चार्टर उडान र नियामक संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो। यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि स्वतन्त्र छानबिनको माग चर्किएको थियो ।
डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदन सार्वजनिक भएका छैनन्। पछिल्लो घटनाले पुनः सुरक्षा मापदण्ड, मौसम व्यवस्थापन र आपतकालीन उडानसम्बन्धी नियमन कति प्रभावकारी छ भन्ने बहसलाई तीव्र बनाएको छ ।
