बाँके क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बन्दै गएको छ। नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट सुरु गरेको घरदैलो अभियान अहिले विभिन्न वडा र गाउँसम्म विस्तार भएको छ ।
चप्परगौडीमा उत्साहजनक सहभागिता
चप्परगौडीमा बिहानैदेखि सञ्चालन गरिएको घरदैलो कार्यक्रमसँगै बजार परिक्रमा समेत गरिएको थियो । स्थानीय व्यापारी तथा सर्वसाधारणले विकास, रोजगारी र सुशासनलाई प्राथमिकतामा राख्दै ‘तारा’ चुनाव चिन्हप्रति सकारात्मक माहोल रहेको बताएका छन् । युवा तथा जेन्जी पुस्ताका अगुवाहरूले हालसम्म सार्वजनिक पद नसम्हालेका जुझारु युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै यस पटक नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
बालापुरमा युवा एकता
यसैगरी बालापुरमा पनि चुनावी सरगर्मी बढ्दो छ । जेन्जी युवा पुस्ताले टोल–टोलमा पुगेर सक्रिय घरदैलो अभियान सञ्चालन गरेका छन्। स्थानीयले रोजगारी अभाव, कृषि उत्पादनको उचित मूल्य, सिँचाइ व्यवस्थापन, सडक स्तरोन्नति लगायतका मुद्दा उठाएका छन् ।
युवाहरूले परिवर्तन र विकासका लागि युवा नेतृत्व आवश्यक रहेको भन्दै जेम्सलाई विजयी गराउन खुलेर समर्थन जनाएका छन् । स्थानीयका अनुसार यसपटकको युवा सक्रियता विगतभन्दा फरक र प्रभावशाली देखिएको छ ।
गोहवामा पनि सकारात्मक संकेत
कोहलपुर नगरपालिका–४ गोहवामा समेत घरदैलो अभियानका क्रममा उल्लेख्य उत्साह देखिएको छ । स्थानीय बासिन्दाले विकास निर्माण, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनीहरूले नयाँ, कर्मठ र प्रतिबद्ध नेतृत्वको खाँचो औंल्याउँदै यस पटक तारा चिन्हलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवारको प्रतिबद्धता
अभियानका क्रममा उम्मेदवार जेम्सले जनताका सुझावलाई आत्मसात् गर्दै समृद्ध बाँके निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा विशेष योजना ल्याउने तथा युवासँग सहकार्य गरेर क्षेत्रलाई विकासको नयाँ चरणमा पुर्याउने उहाँको भनाइ छ ।
समग्रमा, कोहलपुरदेखि राप्तीसोनारीसम्म देखिएको जनसहभागिता र युवा एकताले बाँके क्षेत्र नम्बर १ मा युवा नेतृत्वप्रति बढ्दो विश्वास र समर्थनको स्पष्ट संकेत गरेको छ। आगामी निर्वाचनमा यसको प्रभाव निर्णायक हुन सक्ने आँकलन गरिएको छ ।
