मंशिर २९, कोहलपुर। कोहलपुर नगरपालिका वडा नं. १३ मा अनियमितता र भ्रष्टाचार बढ्दै गएको आरोप लगाउँदै एक नागरिकले सार्वजनिक रूपमा विरोध जनाएका छन्। उनले हातमा बोकेको प्लेकार्डमा “कोहलपुर नगरपालिका वडा नं. १३ मा भएको बेथिति र भ्रष्टाचार बन्द गर। भ्रष्टाचारलाई कारबाही गर” भन्ने स्पष्ट सन्देश लेखिएको छ।
स्थानीय स्तरमै देखिएका बेथिति, अनियमित कार्य र भ्रष्टाचारका घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो विरोध प्रदर्शन गरिएको बताइएको छ। नागरिकले भ्रष्टाचार नियन्त्रणमा स्थानीय सरकार गम्भीर नदेखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न र पारदर्शी तथा जवाफदेही शासन व्यवस्था लागू गर्न माग गरेका छन्। स्थानीय बासिन्दाहरूले पनि वडा तहमा देखिएका समस्याबारे समयमै सुनुवाइ नहुँदा असन्तुष्टि बढ्दै गएको बताएका छन्।
यस विषयमा वडा कार्यालय तथा कोहलपुर नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी छ।
