काठमाडौं । देशका विभिन्न जिल्लाबाट प्रहरीले लागु औषधसहित २५ जनालाई पक्राउ गरेको छ । बुधबार मात्रै काठमाडौं, चितवन, कैलाली, सुनसरी, सिन्धुपाल्चोक, मोरङ, झापा, बारा, सर्लाही, धादिङ र बर्दियाबाट उनीहरू पक्राउ परेका हुन ।
काठमाडौं महानगरपालिकाका विभिन्न स्थानबाट ट्रामाडोल र खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन । प्रहरीका अनुसार गौशाला र गोंगबु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । चितवनमा मात्रै ठुलो परिमाणमा लागुऔषध बरामद भएको छ । कालिका नगरपालिका र माडी नगरपालिकाबाट ट्रामाडोल, एनारगन र नाइट्राभेट गरी हजारौँ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी कैलाली, सुनसरी र मोरङबाट खैरो हेरोइन तथा ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन भने झापामा ४ जना लागुऔषधसहित नियन्त्रणमा लिइएका छन । सिन्धुपाल्चोकको एक होटलबाट विदेशी नागरिकसहित ४ जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनीहरूको साथबाट मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बारा र सर्लाहीमा अफिम तथा नाइट्राजेपामसहित ३ जना पक्राउ परेका छन भने धादिङमा ३० केजी गाँजासहित २ जना र बर्दियामा ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन । प्रहरीले सबै घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

